शक्तिपीठहरूमा चैते दसैँको चहलपहल
ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा श्रद्धालु।
काठमाडौँ । चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज बिहीबार देशभरका शक्तिपीठ र घर-घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । वर्षमा पर्ने चार नवरात्रमध्ये चैत्र नवरात्रलाई विशेष महत्त्वका साथ लिने गरिन्छ ।
असार र पुस शुक्ल पक्षका नवरात्र साधकहरूका लागि मात्र सीमित रहे पनि असोज र चैतको नवरात्र सर्वसाधारणले भव्य रूपमा मनाउने गर्छन् । बडादसैँमा जस्तै जमरा राख्ने र टीका लगाउने परम्परा चैते दसैँमा धेरै नभए पनि हनुमानढोकाको दसैँघरमा भने विधिपूर्वक पूजा र बलि दिने चलन छ । चैते दसैँको अष्टमी र नवमीलाई विशेष मानिन्छ, जसमा नवमीका दिन श्रीरामको जन्म भएको सम्झनामा रामनवमी समेत मनाइन्छ ।
काठमाडौँ उपत्यकाका गुह्येश्वरी, भद्रकाली, शोभा भगवती, नक्साल भगवती र दक्षिणकाली लगायतका पीठहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । उपत्यका बाहिरका मनकामना, पलाञ्चोक भगवती, बागलुङ कालिका र दन्तकाली पाथीभरा लगायतका शक्तिपीठमा पनि विशेष पूजाआजा भइरहेको छ ।
धार्मिक विश्वास अनुसार चैत्र नवरात्रमा शक्तिपीठको दर्शन र पूजा गर्नाले मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने जनविश्वास छ । यो पर्वले पारिवारिक मिलन र सामाजिक सद्भावलाई समेत बलियो बनाएको छ ।
