यो साताको अन्त्यमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । यो साताको अन्त्यतिर पश्चिमी वायु पुनः सक्रिय भई मुलुकका विभिन्न भागमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार देशभर हल्कादेखि मध्यम खालको वर्षाको प्रक्षेपण गरिएको छ ।

वरिष्ठ मौसमविद बरुण पौडेलले काठमाडौँ उपत्यकामा शुक्रबार र शनिबार वर्षा हुने बताए । बिहीबारदेखि नै यस प्रणालीको असर देखिन थाल्नेछ । प्रि-मनसुनको समय भएकाले वर्षासँगै हावाहुरी र चट्याङको जोखिम रहने हुँदा सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।

अहिलेको मौसमी प्रणालीको प्रभाव पूर्वमा बढी र पश्चिममा केही कम पर्ने सम्भावना छ । जलवायु अध्येता डा. धर्मराज उप्रेतीका अनुसार भारतको बिहार र उत्तर प्रदेशतर्फबाट प्रणाली प्रवेश गर्ने भएकाले लुम्बिनी र चितवन क्षेत्रमा यसको प्रभाव बढी देखिन सक्छ । काठमाडौँ उपत्यकामा भने शुक्रबार साँझतिर हावाहुरी र वर्षा हुने आकलन गरिएको छ ।

यो प्रणाली चैत ६ र ७ गतेको तुलनामा केही कम शक्तिशाली हुने अनुमान छ । उच्च पहाडी तथा हिमाली भेगमा भने वर्षासँगै हिमपातको सम्भावना छ । भारतको उत्तरी क्षेत्रमा विकास भएको बादलको बाक्लो तह नेपालतर्फ सर्ने क्रममा रहेकाले तापक्रममा गिरावट आई केही चिसो समेत महसुस हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *