उच्चपदस्थको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्न कांग्रेसको माग
काठमाडौँ। नेपाली कांग्रेसले २०४८ सालदेखि राज्यका सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठनको माग गरेको छ ।
प्रतिनिधि सभा निर्वाचनपछि बसेको पार्टीको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गर्दै अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्नसमेत सरकारसँग आग्रह गरेको छ ।
बैठकले सार्वजनिक पद धारण गरेका उच्चपदस्थ व्यक्तिहरूको सम्पत्तिमाथि कानुनसम्मत अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएको छ ।
यसका साथै नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी विमान खरिद काण्ड र ललिता निवास जग्गा प्रकरण जस्ता चर्चित भ्रष्टाचारका मुद्दाहरूको निष्पक्ष छानबिनका लागि पनि कांग्रेसले आवाज उठाएको छ ।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले गत भदौ २३ र २४ गतेको नवयुवा विद्रोहका क्रममा व्यक्तिका घरमा भएको आगजनी र रकम जलेको विषयमा पनि पूर्वाग्रहरहित ढंगले अनुसन्धान हुनुपर्ने बताए ।
कांग्रेसले यी सबै घटनाको वास्तविकता जनतामाझ ल्याउन र दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
