भागेको होइन, सुरक्षाकर्मीकै आग्रहमा बाहिरिएको हुँ : लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २४ गतेको घटनामा आफ्नो र आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
उच्चस्तरीय जाँचबुझ आयोगमा बयान दिँदै उनले आफू नख्खु कारागारबाट भागेको नभई जेल प्रशासन र सुरक्षा अधिकारीहरूको आग्रहमा बाहिर निस्किएको जिकिर गरेका हुन् ।
आयोगको प्रतिवेदनमा समेटिएको बयानअनुसार लामिछानेले भदौ २४ गते दिउँसो कारागार बाहिर असामान्य स्थिति सिर्जना भएपछि प्रशासनले नै आफूलाई परिवार र पार्टीको जिम्मा लगाउन खोजेको बताएका छन् ।
उनले अदालतको आदेशबिना बाहिर निस्कन अस्वीकार गरे पनि भीड नियन्त्रणका लागि सम्बोधन गरिदिन जेल प्रशासनले पटक-पटक आग्रह गरेपछि आफू प्राङ्गणमा निस्किएको उल्लेख गरेका छन् । सोही क्रममा प्रहरी आत्तिएको र भीडले आफूलाई धकेल्दै बाहिर पुर्याएको उनको दाबी छ ।
कारागार बाहिर निस्किएपछि नजिकैको रेस्टुरेन्टको बार्दलीबाट भीडलाई संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको रक्षा गर्न अपिल गरेको उनले बताएका छन् ।
लामिछानेले आफू निस्कन नचाहँदा नचाहँदै जबरजस्ती बाहिर पठाइएको र पछि गायक रामकृष्ण ढकालको गाडीमार्फत सुरक्षित स्थानमा पुगेर सुरक्षा निकायका प्रमुखहरूलाई आफ्नो अवस्थाबारे जानकारी गराएको बयान दिएका छन् ।
उनले भदौ २८ गते सुरक्षाको प्रत्याभूति पाएपछि पुनः कारागार फर्किएको जानकारी दिँदै आफ्नो पार्टीका कोही सदस्य हिंसात्मक गतिविधिमा संलग्न देखिए कारबाही गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
साथै, उनले कारागार सुधारका लागि खुला कारागार नीति र कैदीबन्दीको मानसिक स्वास्थ्य परामर्श जस्ता प्रणाली सुदृढ गर्न सुझाव समेत दिएका छन् ।
