अब औपचारिक लयमा प्रतिनिधिसभा

काठमाडौँ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएसँगै नवनिर्वाचित प्रतिनिधि सभा औपचारिक मोडमा प्रवेश गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बुधबार आयोजित एक विशेष समारोहका बीच केसीलाई पदको शपथ गराएका हुन् ।

निर्वाचनपछि प्रतिनिधि सभा गठन भएलगत्तै राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई शपथ गराउने र त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने संवैधानिक व्यवस्था छ ।

शपथलगत्तै केसीले सिंहदरबारस्थित कार्यालय पुगेर सभामुखको हैसियतमा पदभार ग्रहण गरे । उनलाई संसद् सचिवालयका पदाधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।

भोलि चैत १२ मा प्रतिनिधि सभाका अन्य सदस्यहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ । नवनिर्वाचित सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले नै बैठकको अध्यक्षता र कार्यभार सम्हाल्ने छन् ।

८७ वर्षीय केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित भएका हुन् र उनी पूर्ववर्ती प्रतिनिधि सभामा पनि सांसद थिए ।

यसैबीच, मुलुकमा नयाँ सरकार गठनको प्रक्रिया पनि अघि बढेको छ । यही चैत १३ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ ।

रास्वपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कूल १८२ स्थान हासिल गर्दै भारी एकल बहुमत प्राप्त गरेको छ । बहुमतका लागि १३८ स्थान आवश्यक पर्नेमा रास्वपाले उल्लेख्य सिट जितेकाले सरकार गठनमा अन्य दलसँग गठबन्धन गर्नुपर्ने छैन ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक लिङ्ग र फरक राजनीतिक दलको हुनुपर्ने भएकाले उपसभामुख पदमा भने रास्वपाले समर्थन गरेको अर्को दलको सदस्य निर्वाचित हुनेछन् ।

नयाँ सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि ज्येष्ठ सदस्य केसीकै अध्यक्षतामा सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *