चैती छठ : साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने
जनकपुरधाम । जनकपुरधामसहित मधेशका विभिन्न जिल्लाहरूमा आज मंगलबार श्रद्धा र निष्ठापूर्वक चैती छठ पर्व मनाइँदै छ।
चैती छठको मूल विधिअनुसार आज साँझ अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिने कार्यक्रम रहेको छ। भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात् दिनानाथलाई अर्घ्य दिएपछि यो पर्व विधिवत् रूपमा समापन हुनेछ।
विशेषगरी जनकपुरधामका प्रसिद्ध जलाशयहरू गंगासागर र अर्गजासरमा यो पर्व उत्साहका साथ मनाउने गरिन्छ। यसपटक पनि पर्वका लागि यी जलाशयहरूलाई दुलहीझैँ सिँगारिएको छ।
चैती छठ गर्नाले मनले चिताएको पूरा हुने र छालाजन्य रोगहरू निको हुने जनविश्वास रहिआएको छ। चार दिनसम्म अत्यन्त कठोर नियम र निष्ठाका साथ मनाइने यस पर्वको पहिलो दिन ‘नहाय-खाय’ र दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरिएको थियो।
आज षष्ठी तिथिका दिन व्रतालुहरू निराहार उपवास बसेर साँझ जलाशयमा स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारीमा छन्।
सूर्य अस्ताउनुभन्दा करिब एक घण्टा अघिदेखि नै व्रतालुहरू पानीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै दिनानाथको उपासना गर्छन्। अर्घ्यका लागि ठेकुवा, भुसुवा, मुला, उखु, भण्टा, केरा र नरिवल जस्ता सामग्रीहरू प्रसादका रूपमा प्रयोग गरिन्छ।
आज रातभरि जागराम बसेर भोलि चैत्र शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत टुङ्गिने परम्परा छ।
कात्तिकमा मनाइने छठको तुलनामा चैती छठ मनाउनेहरूको सङ्ख्या केही कम भए पनि पछिल्ला वर्षहरूमा यो पर्व मनाउने भक्तजनको सङ्ख्या क्रमशः बढ्दै गएको देखिन्छ।
