एसईई नजिकिँदै: ‘४ जीपीएका लागि’ विद्यार्थीलाई दबाब नदिन आग्रह
फाइल तस्बिर
काठमाडौँ । चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि देशभरका ५ लाखभन्दा बढी विद्यार्थीहरु यतिखेर अन्तिम तयारीमा व्यस्त छन्।
परीक्षाको मिति नजिकिएसँगै उत्कृष्ट नतिजा ल्याउनुपर्ने दबाबका कारण विद्यार्थीहरुमा मनोवैज्ञानिक तनाव समेत बढ्दै गएको छ।
खासगरी जीपीए ४ वा माथिल्लो श्रेणीको नतिजा ल्याउन विद्यालय र अभिभावकहरुबाटै बढी दबाब दिने गरिएको छ। तर यसरी मानसिक तनाव दिनु गलत रहेको सरकारी अधिकारीहरु बताउँछन्।
मध्यम खालको नतिजा ल्याए पनि माथिल्लो कक्षामा अध्ययन गर्न पाइने हुनाले विद्यार्थीलाई दबाबभन्दा पनि राम्रो हेरचाह र प्रोत्साहन आवश्यक रहेको उनीहरुको भनाइ छ।
निजी विद्यालयहरुले राम्रो नतिजाका लागि अतिरिक्त कक्षा र निरन्तरको अभ्यासमा जोड दिइरहेका छन्। मिहिनेतबिना सर्वोत्कृष्ट नतिजा सम्भव नहुने भएकाले शिक्षक र अभिभावकको अपेक्षा हुनु स्वभाविक भए पनि यसलाई बोझका रुपमा लिन नहुने विज्ञहरुको सुझाव छ।
एसईईको नतिजाले माथिल्लो कक्षामा विषय छनोट, छात्रवृत्ति र राम्रा शैक्षिक संस्था पाउने आधार तय गर्ने भएकाले विद्यार्थीहरु अंग्रेजी, गणित र विज्ञान जस्ता विषयमा बढी केन्द्रित देखिएका छन्।
यस वर्षको एसईईमा देशभरका ११ हजार ३ सय ७९ विद्यालयका ५ लाख ९ हजार ९ सय ६१ परीक्षार्थी सहभागी हुँदैछन्। ४ जीपीए ल्याउँदैमा सबैथोक हासिल हुने नभई त्यसपछिको निरन्तर मिहिनेत झन् महत्वपूर्ण हुने भएकाले विद्यार्थीलाई सहज वातावरण, उचित खानपान र सन्तुलित जीवनशैलीमा ध्यान दिन आग्रह गरिएको छ।
पूर्वशिक्षक कपिल अधिकारीका अनुसार तीन घण्टाको मूल्याङ्कनभन्दा पनि विद्यार्थीले १० वर्षमा हासिल गरेको ज्ञान र सीप महत्वपूर्ण हुने भएकाले उनीहरुलाई मानसिक दबाब नदिई उज्ज्वल भविष्यका लागि प्रेरित गर्नु आवश्यक छ।
