विश्व मौसम दिवस: जलवायुजन्य जोखिम र पूर्वसूचना प्रणालीमा जोड

काठमाडौं। ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने मूल नाराका साथ आज सोमबार नेपालसहित विश्वभर ७६ औँ विश्व मौसम दिवस मनाइँदैछ।

विश्व मौसम संगठन (डब्ल्यूएमओ) स्थापना दिवसको अवसरमा मनाइने यस वर्षको दिवसले जलवायु परिवर्तनका कारण सिर्जित बढ्दो जोखिम र सटीक पूर्वसूचना प्रणालीको आवश्यकतालाई जोड दिएको छ। बदलिँदो जलवायु र यसले जनधनमा पारेको गम्भीर असरका बीच यस वर्षको दिवसलाई विशेष महत्त्वका साथ हेरिएको छ।

नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले हालै सार्वजनिक गरेको प्रतिवेदनले हिन्दकुश हिमालय क्षेत्रमा हिउँ पग्लिने दर भयावह रहेको देखाएको छ।

सन् २०११ देखि २०२० को दशकमा त्यसअघिको दशकको तुलनामा हिउँ पग्लिने दर ६५ प्रतिशतले बढेको इसिमोडको प्रतिवेदनमा उल्लेख छ। यही अवस्था कायम रहे यस शताब्दीको अन्त्यसम्ममा हिमालका ३० देखि ५० प्रतिशत हिउँ हराउने र ‘एशियाको वाटर टावर’ भनिने नदी प्रणाली नै सुक्न सक्ने चेतावनी विज्ञले दिएका छन्।

तीव्र हिम गलनका कारण नेपालका हिमतालहरू फुट्ने उच्च जोखिममा छन्, जसले तल्लो तटीय क्षेत्रका लाखौँ मानिस र जलविद्युत् आयोजनालाई जुनसुकै बेला क्षति पुर्‍याउन सक्छ।

गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि जनधनको क्षति डरलाग्दो हुने गरेको छ। बाढी, पहिरो र चट्याङ जस्ता विपद्का कारण हरेक वर्ष औसतमा २५० जनाले ज्यान गुमाउने गरेका छन्।

पछिल्लो एक दशकमा मात्रै ५ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ। सन् २०१२ देखि २०२४ सम्मको अवधिमा ४४ हजारभन्दा बढी साना-ठुला विपद्का घटना भएका छन्, जसमा घर, विद्यालय र पुललगायत ४२ हजार भौतिक संरचना क्षतिग्रस्त भए। यसबाट नेपालले बर्सेनि औसत करिब २९ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्दै आएको छ, जुन कुल गार्हस्थ्य उत्पादनको करिब ०.२५ प्रतिशत हुन आउँछ।

विश्व मौसम संगठनका अनुसार सन् २०२५ इतिहासकै तेस्रो सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड भएको छ। औद्योगिक क्रान्तिपूर्वको तुलनामा पृथ्वीको तापमान १.४८ डिग्री सेल्सियसले बढिसकेको छ। यसको प्रत्यक्ष असर स्वरूप मनसुनको प्रकृतिमा परिवर्तन देखिएको छ भने तराई क्षेत्रमा तातो हावाको लहर (लु) र खडेरीको जोखिम बढेको छ।

यस वर्षको नाराले भनेझैँ प्रभावकारी र पहुँचयोग्य पूर्वसूचना प्रणाली नै क्षति न्यूनीकरणको मुख्य उपाय हो। नेपालले सन् २०२७ सम्ममा ‘सबैका लागि पूर्वसूचना’ पुर्‍याउने लक्ष्य राखेको छ।

अत्याधुनिक राडार र मौसम स्टेशनमार्फत दिइने जानकारीले कृषकदेखि सर्वसाधारणसम्मलाई सुरक्षित रहन मद्दत पुग्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ। यद्यपि, विश्वव्यापी तापमान वृद्धिको प्रमुख कारक मानिने हरितगृह ग्यास उत्सर्जन घटाउन ठुला राष्ट्रले तत्काल कदम चाल्नुपर्ने विज्ञको सुझाव छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *