कांग्रेसले भन्यो, ‘जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर’
काठमाडौं। नेपाली कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
केन्द्रीय कार्यसमिति बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाइसकेको प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता र जवाफदेहिताविपरीत भएको निष्कर्ष निकालेको हो।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि छलफल गर्दै पार्टीले पछिल्लो निर्वाचन परिणामको समेत गम्भीर समीक्षा गरेको छ।
निर्वाचनमा कमजोर प्रदर्शन हुनुमा आन्तरिक गुटबन्दी, असहयोग तथा संगठनात्मक कमजोरी मुख्य कारण रहेको निष्कर्ष निकालिएको छ।
त्यसैगरी, गठबन्धन सरकारको कार्यसम्पादन जनअपेक्षाअनुसार हुन नसक्नु, विगतका संरचनागत कमजोरीहरू कायमै रहनु र जनआक्रोश बढ्नु पनि हारका कारणका रूपमा उल्लेख गरे।
जेनजी युवा आन्दोलनले पुराना राजनीतिक शक्तिप्रति असन्तोष व्यक्त गर्नु तथा डिजिटल माध्यमको प्रभावले नयाँ शक्तिलाई फाइदा पुग्नु पनि विश्लेषणमा समेटिएको छ।
बैठकले व्यक्तिगत नभई संरचनागत र परिस्थितिजन्य कारणले पनि चुनावमा हार बेहोर्नु परेको ठहर गर्दै जिल्ला र निर्वाचन क्षेत्रबाट थप प्रतिवेदन माग्ने निर्णय गरेको छ।
प्राप्त भएपछि प्रतिवेदनलाई एकीकृत गरी पुनः समीक्षा गरिने कांग्रेसले जनाएको छ। साथै, कांग्रेसले अब १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने निर्णय गर्दै पार्टी एकता सुदृढ गर्न र कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय रहन आह्वान गरे।
