पश्चिम नेपालमा बिहानै भूकम्प
काठमाडौं। सुदूरपश्चिमको दार्चुला र आसपासका क्षेत्रमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
बिहान ३ः५१ बजेतिर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार दार्चुलाको मुराई आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।
रातको समयमा गएको भूकम्पका कारण स्थानीय बासिन्दा त्रसित बनेका थिए। कतिपय मानिस घरबाहिर निस्किएका थिए। यद्यपि, हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन।
दार्चुलामा छोटो समय अन्तरालमै पुनः भूकम्प गएको यो दोस्रो घटना हो। यसअघि चैत ३ गते पनि सोही जिल्लाको सितौला आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
सम्बन्धित निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
प्रतिक्रिया
