पानीमाथिको ओभानो बन्दै कांग्रेसका ‘भूतपूर्व’ हरू : समानान्तर ताण्डव

काठमाडौँ। नेपाली कांग्रेसभित्रको सत्ता संघर्षले अराजकताको सीमा नाघेको छ। विशेष महाधिवेशनबाट चुनिएको वैधानिक नेतृत्वलाई स्वीकार्नुको सट्टा, ‘रिटायर्ड’ भइसकेका पुराना नेताहरूले पार्टीभित्रै अर्को ‘अवैध’ अखडा खडा गर्ने धृष्टता गरेका छन्।

आइतबार धुम्बाराहीमा बसेको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको भेलाले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेसँगै कांग्रेस विभाजनको संघारमा पुगेको छ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ। निर्वाचन आयोगले समेत आधिकारिकता दिइसकेको छ।

तर, दशकौँसम्म पार्टीलाई आफ्नो मुठ्ठीमा राखेका देउवा र कोइराला समूहले न त जनमतलाई स्वीकारेका छन्, न त लोकतान्त्रिक प्रक्रियालाई। अदालतमा मुद्दा विचाराधीन रहेको बहाना बनाएर उनीहरूले आफूलाई अझै पनि ‘संस्थापन’ ठान्ने भ्रम पालिरहेका छन्।

रोचक त के छ भने, भर्खरै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको सम्पूर्ण दोष नयाँ नेतृत्वको थाप्लोमा हालेर आफू पानीमाथिको ओभानो बन्ने कसरतमा यी पुराना नेताहरू लागेका छन्।

शुक्रबारदेखि वैधानिक केन्द्रीय समितिको बैठक निर्वाचन समीक्षामा जुटिरहेका बेला, ‘धुम्बाराही गुट’ ले छुट्टै बैठकको स्वाङ रच्नुले उनीहरूको नियत प्रस्ट पारेको छ- उनीहरूलाई पार्टीको सुदृढीकरण होइन, केवल गुमेको पद र प्रतिष्ठाको चिन्ता छ।

नेतृत्व हस्तान्तरणलाई सहजै स्वीकार्न नसक्ने यो ‘सिनियर’ क्लबको हठले कांग्रेसलाई इतिहासकै कमजोर मोडमा उभ्याएको छ।

निर्वाचनको हारलाई बहाना बनाएर नयाँ पुस्तालाई खुइल्याउने र पार्टीभित्र समानान्तर सत्ता चलाउने यो खेलले अन्ततः कांग्रेसलाई कुन खाडलमा पुर्‍याउने हो, त्यो भने हेर्न बाँकी नै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *