पाल्पामा टिप्पर दुर्घटना : ४ जनाको मृत्यु
काठमाडौँ। पाल्पामा टिप्पर दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन्। शनिबार राति माथागढी गाउँपालिका-४ झडेवाबाट वडा नम्बर ७ रहबासतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटनामा परेको हो। चुनढुंगा खानीतर्फ जाँदै गरेको उक्त टिप्पर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अर्घाखाँचीको सितगंगा नगरपालिका-४ सिद्दाराका २६ वर्षीय चालक चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल बीक र रुपन्देहीको देवदह नगरपालिका-२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको छ। उनीहरूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।
यस्तै दुर्घटनामा गम्भीर घाइते भएका पाल्पाको तानसेन नगरपालिका-१० का ३३ वर्षीय राजन चिदीको पनि उपचारका क्रममा मृत्यु भएको छ। उनलाई सुरुमा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाका बेला टिप्परमा चालकसहित चार जना सवार थिए। प्रभासस्थित लुम्बिनी मेडिकल कलेज पुर्याउँदा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताएको छ।
