धनकुटाको सहिदभूमिमा दुर्घटना, ३ जनाको अवस्था गम्भीर

धनकुटा। धनकुटाको सहिदभूमि गाउँपालिकामा शनिबार दिउँसो एक पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडक खण्डमा गुर्धुमबाट पञ्चकन्यातर्फ जाँदै गरेको को १ ज २२९५ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटना दिउँसो २ बजेतिर भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेहरूमा सहिदभूमि १ का २१ वर्षीय चालक पूर्ण राई रहेका छन्, जसको टाउकोमा गहिरो चोट लागेको छ।

सोही स्थानका १६ वर्षीय अबिन राई र ३५ वर्षीया मिना तामाङको अवस्था पनि गम्भीर रहेको छ। गम्भीर घाइते तीनै जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ।

यसैगरी सोही दुर्घटनामा परी १६ वर्षीय अमित राई पनि घाइते भएका छन्। उनको भने धनकुटाको हिलेस्थित एक मेडिकलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

तीव्र गतिका कारण पिकअप अनियन्त्रित भई सडकबाट तल खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *