देशभरको मौसममा सुधार, वर्षाको क्रम घट्दै जाने
काठमाडौँ । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएसँगै देशभरको मौसममा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार बिहानको तुलनामा अब वर्षाको क्रम घट्दै जानेछ ।
मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै अब पहिलेको जस्तो ठूलो वर्षा नहुने बताए । उनका अनुसार हाल कायम रहेको वर्षा गराउने प्रणाली बिस्तारै बाहिरिने क्रममा छ ।
यद्यपि प्रि-मनसुनको समय भएकाले घाम लाग्ने र फेरि बादल लाग्ने क्रम भने जारी रहने विभागले जनाएको छ । आइतबार पनि देशका केही भागमा आंशिक बदली भई छिटफुट वर्षाको सम्भावना कायमै रहनेछ ।
अहिले कोशी, बागमती र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहे पनि यो क्रम बिस्तारै हट्दै जाने मौसमविद्को भनाइ छ । तत्कालका लागि ठूलो र लामो समयसम्म झरी पर्ने सम्भावना नरहेको विभागको प्रक्षेपण छ ।
पछिल्लो २४ घण्टाको विवरणअनुसार देशका विभिन्न भागमा निकै राम्रो वर्षा मापन गरिएको छ । विभागको तथ्याङ्कअनुसार पाल्पामा सबैभन्दा धेरै ७५.८ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै, रूपन्देहीमा ७५.२ मिलिमिटर, मोरङमा ६३.८ मिलिमिटर, धनकुटामा ६३.२ मिलिमिटर र कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । वर्षाले केही स्थानको जनजीवन प्रभावित पारे पनि किसानहरूका लागि भने यसले राहत पुर्याएको छ ।
