रोशीको बाढीले बीपी राजमार्ग अवरुद्ध, यात्रुलाई सतर्क रहन आग्रह
फाइल तस्बिर
काठमाडौँ। अविरल वर्षाका कारण रोशी खोलामा बाढी आउँदा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । अस्थायी रूपमा सञ्चालनमा ल्याइएका विभिन्न डाइभर्सनहरू खोलाले बगाएपछि यातायात सेवा ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गा क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरू बाढीले बगाएको छ ।
निर्माण कार्य जारी रहेकाले राजमार्गको धेरै खण्ड रोशी खोलाको किनारमै अवस्थित छ । खोलाको बहाव बढेर सडकमा पसेपछि आवतजावत पूर्ण रूपमा बन्द भएको एसपी शाहले बताए ।
अहिले सडक विभाग र स्थानीय तहसँगको समन्वयमा राजमार्ग खुलाउने प्रयास भइरहेको छ । प्रहरीले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न विशेष अनुरोध गरेको छ । राजमार्ग अवरुद्ध भएपछि काभ्रे खण्डमा चल्ने सवारीसाधनहरूलाई भकुण्डे र कटुन्जेमा रोकिएको छ ।
यता सिन्धुली खण्ड भएर आउने सवारीसाधनहरूलाई पनि प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालयको चेकपोस्टमा होल्ड गरिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
२०८१ र २०८२ को बर्खायाममा आएको भीषण वर्षाले बीपी राजमार्गमा ठूलो क्षति पुर्याएपछि हाल भकुण्डे-नेपालथोक खण्ड निर्माणाधीन अवस्थामा छ । सोही निर्माणका क्रममा बगरमा बनाइएका डाइभर्सनहरू फेरि पनि बाढीले प्रभावित पारेका हुन् ।
