भीषण वर्षाको सम्भावना, काठमाडौँमा पनि प्रभाव पर्ने

काठमाडौँ । भारतको बिहार क्षेत्रमा विकसित भएको एक मौसमी प्रणाली बागमती प्रदेशमा प्रवेश गरेकाले नेपालका विभिन्न भागमा वर्षा हुने सम्भावना देखिएको छ ।

मौसमविद् उज्जवल उपाध्यायका अनुसार भारतको गोरखपुर-बगाहा हुँदै प्रवेश गरेको यो प्रणाली हाल उत्तर-पूर्व सर्ने क्रममा छ । नेपालमा पहिलेदेखि नै सक्रिय रहेको वर्षा प्रणालीसँग यो ठोक्किने भएकाले केहीबेर भीषण वर्षा हुन सक्ने उच्च सम्भावना रहेको उनले बताए ।

यो प्रणाली पश्चिम चितवनबाट सुरु भएर पूर्वतर्फ बढ्ने देखिएको छ । यसको प्रभावले चितवनको भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरिएको छ ।

धादिङ र उत्तरी मकवानपुर हुँदै यो प्रणाली बिहान १० देखि ११ बजेको आसपासमा काठमाडौँ उपत्यका आइपुग्ने मौसमविद्को भनाइ छ । काठमाडौँ आइपुग्दा यो प्रणाली केही कमजोर हुने भएकाले उपत्यकामा भने धेरै ठूलो वर्षाको सम्भावना कम रहेको बताइएको छ ।

यो वर्षाको अवधि बढीमा तीन घण्टाको हुने र त्यसपछि पश्चिम तथा मध्य क्षेत्रको मौसम क्रमशः खुल्दै जाने देखिएको छ । मौसमविद् विनोद पोखरेका अनुसार आज रातिबाटै यो प्रणालीको प्रभाव बिस्तारै कम हुँदै जानेछ ।

हिजो पनि देशका विभिन्न स्थानमा मेघ गर्जन, हुरीबतास र असिना पानी पर्दा जनजीवन प्रभावित भएको थियो । हावाहुरी र वर्षाले स्थानीय स्तरमा बालीनाली र भौतिक संरचनामा समेत सामान्य क्षति पुर्‍याएको विवरण प्राप्त भएको छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा रेकर्ड गरिएको छ । आज बिहान सवा ८ बजेसम्मको विवरण अनुसार लेटाङमा ६१.६ मिलिमिटर वर्षा भएको छ ।

वर्षासँगैको भलबाढी र हावाहुरीका कारण विभिन्न जिल्लामा सडक, विद्युत र सञ्चार सेवा समेत प्रभावित भएको छ । मौसममा भइरहेको यो फेरबदल र वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विशेष गरी हुरीबतास र चट्याङको जोखिमबाट बच्न सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *