देशभर हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभरिको मौसममा बदली आएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा पूर्णतया बदली रहेको छ भने बाँकी स्थानमा साधारणतया बदली भएको छ ।
आज दिउँसो देशभरको मौसममा उल्लेख्य बदलाव आउने देखिएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ । यसका साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हिमपात हुने संकेत देखिएको छ ।
आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ । कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी क्षेत्रका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
वर्षा र हिमपातका कारण हुनसक्ने चिसो र प्राकृतिक जोखिमबाट बच्न महाशाखाले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
