हसन्दह डनबस्कोमा विज्ञान प्रदर्शनी, विद्यार्थीका आविष्कारले पाए प्रशंसा
पथरी। पथरी शनिश्चरे-६, हसन्दहस्थित हसन्दह डनबस्को जेम इङ्लिस स्कुलमा भव्य विज्ञान प्रदर्शनी आयोजना गरिएको छ। शुक्रबार विद्यालय परिसरमा आयोजित प्रदर्शनीको उद्घाटन पथरी शनिश्चरे वडा नं ६ का वडाध्यक्ष कृष्णकुमार बस्नेतले गरे।
कार्यक्रममा विद्यालयका सञ्चालक तथा निर्देशक किरण थापा, समाजसेवी बम बहादुर बस्नेत, बद्री निराैला र पत्रकार रामकुमार परियारको विशेष उपस्थिति थियो।
प्रदर्शनीमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले निर्माण गरेका विभिन्न रोबोटिक उपकरण, वैज्ञानिक आविष्कार तथा कलात्मक सामग्रीसहित ४० भन्दा बढी स्टलहरू राखिएका थिए।
प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका ग्यास डिटेक्टर, स्मार्ट ब्लाइन्ड स्टिक, स्वचालित सिँचाइ प्रणाली, स्मार्ट डस्टबिन, केबल कार, वाइन्ड मिल, क्ल्याप स्विच, रोबोटिक जिप जस्ता सामग्री तथा विभिन्न थ्रीडी मोडेलहरू आकर्षणको केन्द्र बनेका थिए।
विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी गड्ताैलाले गरेकी थिइन् भने विद्यार्थी शिखा साहले स्वागत मन्तव्य राखेकी थिइन्।
विज्ञान र प्रविधिमा जोड दिँदै नानीहरूको क्षमता विकास र विद्यार्थीहरूलाई हौसला प्रदान गर्ने मुख्य उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको विद्यालयले जनाएको छ।

