कोशीमा शक्तिशाली हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर
विराटनगर। कोशी प्रदेशका विभिन्न जिल्लामा शनिबार शक्तिशाली हावाहुरी, वर्षा, असिना र चट्याङको उच्च जोखिम देखिएपछि स्थानीय प्रशासन र सुरक्षा निकायले व्यापक सतर्कता अपनाउन आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार मोरङ, सुनसरी र धनकुटा आसपासका क्षेत्रमा प्रतिघण्टा ११९ किलोमिटरको वेगमा तीव्र हावाहुरी चल्ने सम्भावना छ।
मोरङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने र विद्युत् सेवा अवरुद्ध हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ।
सुनसरीको धरान उपमहानगरपालिकाले पनि नगरवासीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जारी गरेको सूचनामा शनिबार धरान, विराटनगर र धनकुटा क्षेत्रमा तीव्र हावाहुरीसँगै वर्षा हुने उल्लेख छ।
हावाहुरीका बेला झ्यालढोका बन्द गर्न, अग्ला रुख र बिजुलीका खम्बाबाट टाढा रहन तथा सवारीसाधन सुरक्षित स्थानमा राख्न आग्रह गरिएको छ।
धनकुटामा पनि स्थानीय प्रशासनले बजार क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई सचेत गराएको छ। चट्याङको जोखिम रहेकाले खुला ठाउँ, खेतबारी र डाँडामा नबस्न प्रहरीले सुझाव दिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश क्षेत्रमा शनिबार मेघगर्जन र वर्षासँगै उच्च पहाडी भेगमा हिमपात हुन सक्छ।
बदलिँदो मौसम प्रणालीका कारण केही दिनसम्म यस्तै अवस्था रहने भएकाले जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताइएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सम्भावित विपद्को सामना गर्न १४ वटै जिल्लामा सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ।
पश्चिम नेपालका विभिन्न क्षेत्रमा शुक्रबार नै तीव्र हावाहुरी र वर्षा भइसकेकाले यसपटकको चेतावनीलाई गम्भीर रूपमा लिन सरोकारवालाले आग्रह गरेका छन्।
