प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, जहाजहरू डाइभर्ट

काठमाडौँ। हावाहुरीसहित आएको वर्षा र असिनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विभिन्न विमानस्थलको उडान सेवा प्रभावित भएको छ।

विमानस्थलमा हवाई उडान र अवतरणमा समस्या देखिएपछि उडानहरू अवरुद्ध भएका हुन्। वर्षा र मेघगर्जनसहितको मौसमका कारण उडान सुरक्षामा चुनौती देखिएपछि जहाजहरूले सुरक्षित रूपमा अवतरण गर्न सकेका छैनन्।

विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार विमानस्थल प्राविधिक रूपमा खुला रहे पनि प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण जहाजहरूले उडान र अवतरण गर्न सकेका छैनन्।

भारतबाट काठमाडौँका लागि उडेको इन्डिगो एयरलाइन्सको जहाज अवतरण गर्न नसकेपछि लखनउ डाइभर्ट गरिएको छ। त्यस्तै कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज पनि नेपालको आकाशमा होल्डमा रहेको छ।

मौसममा सुधार नआएमा यसलाई पनि अन्यत्र डाइभर्ट गर्नुपर्ने अवस्था आउन सक्ने प्रवक्ता बस्नेतले बताए।

काठमाडौँका लागि विभिन्न सहरबाट उडेका जहाजहरू गन्तव्यमा पुग्न नसकी बीच बाटोबाटै वा काठमाडौँको आकाशबाटै सम्बन्धित विमानस्थलमा फर्किएका छन्।

विराटनगर, सिमरा, धनगढी र भैरहवाबाट काठमाडौँका लागि उडेका जहाजहरू मौसम प्रतिकूल भएपछि पुनः पुरानै स्टेसनमा डाइभर्ट भएका हुन्।

विमानस्थलको भिजिबिलिटी हाल ३ हजार मिटरको हाराहारीमा भए पनि वर्षा र मेघगर्जनका कारण अवतरणका लागि ‘एप्रोच’ गर्न कठिन भएको बताइएको छ।

जहाजमा हुने वेदर राडारले जोखिमको सङ्केत गरेपछि पाइलटहरूले जोखिम नलिई पुरानै गन्तव्य रोजेको बस्नेतले जानकारी दिए। विशेष गरी दक्षिणतर्फको मौसम बढी बिग्रिएकाले जहाजहरूले धावनमार्ग समात्न नसकेको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *