काठमाडौँ उपत्यकामा असिनासहित वर्षा, सतर्क रहन विभागको आग्रह
काठमाडौँ। काठमाडौँ उपत्यकामा आज असिनासहित वर्षा भएको छ। वर्षाका कारण जनजीवन सामान्य प्रभावित बनेको छ।
जल तथा मौसम विज्ञान विभागले आज शुक्रबार अपराह्नपछि विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानी पर्ने सम्भावना रहेको बताएको छ।
यसबाट मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै विभागले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद्हरूका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा मौसममा परिवर्तन आएको हो। आगामी केही दिनसम्म मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको पनि जनाइएको छ।
वर्षा र असिनाले सडक यातायात तथा दैनिक क्रियाकलापमा समेत केही बाधा पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। उक्त प्रणाली उत्तर–पूर्वतर्फ सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हावाहुरी चलिरहेको जनाएको छ।
हावाहुरी अझ तीव्र हुन सक्ने भएकाले सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल ढल्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उडाउने जोखिम रहेको चेतावनी दिइएको छ।
प्राधिकरणले जोखिमयुक्त यात्रा नगर्न, हावाहुरी नरोकिन्जेल सुरक्षित स्थानमा बस्न र विद्यालय बस सञ्चालनका क्रममा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
