गगन थापाको राजीनामा बेठिक : केसी
काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले महामन्त्री गगन थापाको राजीनामा बेठिक भएको बताएका छन्।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने धारणा राखे।
पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको भनाइ थियो।
मैदानमा क्याप्टेन भएर पार्टी र देश बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बीचमा छोडेर जान मिल्दैन भन्दै केसीले राजीनामाको विरोध गरे।
उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्तालाई आग्रह पनि गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्रलाई संरक्षण गर्ने काममा कांग्रेसले सहयोग गर्ने केसीले बताए।
पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने टिप्पणी गरे।
