नवनिर्वाचित सांसदको शपथ चैत १२ गते
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आगामी चैत १२ गते पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
संघीय संसद् सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहणको समय तोकिएको जानकारी दिएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरूले आफ्नो मातृभाषामा समेत शपथ लिन पाउने व्यवस्था सचिवालयले मिलाएको छ । मातृभाषामा शपथ लिन चाहने सांसदले निर्धारित समयअघि नै सचिवालयलाई जानकारी गराउनुपर्नेछ ।
शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा आयोजना हुनेछ । नयाँ भवनको निर्माण कार्य अझै जारी रहे पनि विशेष समारोहका लागि त्यहाँ आवश्यक तयारी पूरा गरिएको सचिवालयले जनाएको छ ।
शपथका लागि उपस्थित हुँदा सांसदहरूले निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित भएको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि र दुई प्रति राहदानी साइजको फोटो साथमा ल्याउनुपर्नेछ ।
बिहीबार मात्रै निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएपछि नयाँ संसद् गठनको प्रक्रिया अघि बढेको हो ।
यसैबीच संसद् सचिवालयले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका प्रतिनिधिहरूसँग शपथ ग्रहण र आगामी अधिवेशनको तयारीका विषयमा छलफल समेत गरेको छ ।
