चैत १३ गते बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आगामी चैत १३ गते नेपालको प्रधानमन्त्रीका रूपमा नियुक्त हुने निश्चित भएको छ।

बिहीबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेबीच भएको ‘राजकाज’ छलफलले शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने र शपथको मिति तय गर्ने निर्णय गरेको हो।

उपसभापति डा. वाग्लेका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते सम्पन्न भएलगत्तै चैत १३ गते शाहले प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको छ।

निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाइसकेकाले अब सरकार गठनको संवैधानिक प्रक्रियाले गति लिएको छ।

फागुन २१ को निर्वाचनमा १८२ सिटसहित स्पष्ट बहुमत ल्याएको रास्वपाले बालेन शाहलाई नै भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै चुनावी अभियान चलाएको थियो।

पार्टीभित्रको यो समझदारीसँगै अब मुलुकले नयाँ नेतृत्व पाउने बाटो खुलेको छ। प्रधानमन्त्रीको शपथपछि रास्वपाले आफ्नो एकल मन्त्रिपरिषद् गठन गर्ने र सार्वजनिक सेवा प्रवाहमा केन्द्रित हुने बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *