रास्वपाका शीर्ष नेताहरू छलफलमा: ‘राजकाज’ बारे मन्थन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू नयाँ सरकार गठन र भावी कार्यदिशाबारे आन्तरिक छलफलमा जुटेका छन्।
उपसभापति डा. स्वर्णिम वाग्लेले बिहीबार साँझ सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै ‘राजकाज आज साँझको छलफल’ भनी जानकारी दिएका हुन्।
सार्वजनिक तस्बिरमा पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डा. वाग्ले र डीपी अर्यालका साथै वरिष्ठ नेता बालेन्द्र (बालेन) साह गम्भीर विमर्शमा देखिएका छन्।
निर्वाचन आयोगले बिहीबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएपछि रास्वपाले सरकार निर्माणको प्रक्रियालाई तीव्रता दिएको हो।
फागुन २१ को निर्वाचनमा १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेको रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने तयारी गरिरहेको छ।
तस्बिरमा देखिएको नेताहरूको ‘राजकाज’ संवादले अब बन्ने मन्त्रिपरिषद्को स्वरूप र सार्वजनिक सेवा प्रवाहका प्राथमिकताका विषयमा केन्द्रित रहेर छलफल भइरहेको सङ्केत गरेको छ।
पार्टीले आगामी चैत १२ गते हुने सांसदहरूको शपथ ग्रहणअघि नै संसदीय दलको नेता चयन र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा टुङ्गो लगाउने बुझिएको छ।
