गगनको पक्षमा विश्वप्रकाश, ‘डढेलो निभाउनेलाई दोष दिनु हुन्न’

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामाको विपक्षमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले थापाको राजीनामालाई लिएर आफ्नो असहमति व्यक्त गरेका हुन्।

गगन थापाले बिहीबार बिहान निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि उपसभापति शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्।

शर्माले नैतिकताको कुरा उठाउनु सकारात्मक भए पनि अहिलेको प्रधान नैतिक दायित्व भनेको राजीनामा दिएर भाग्ने नभई स्थिति सम्हाल्ने भएको बताए।

‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसङ्गत हुँदैन,’ शर्माले थापाको बचाउ गर्दै भनेका छन्। विशेष महाधिवेशनबाट चुनिएको छोटो समयमै निर्वाचनमा होमिनुपरेकाले हारको सम्पूर्ण भारी थापालाई मात्र बोकाउन नहुने उनको तर्क छ।

शर्माले पार्टीको आगामी बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा हुनुका साथै थापाको राजीनामा पत्र र त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेस गरिने जानकारी समेत दिएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस ३८ सिटमा मात्र खुम्चिएपछि पार्टीभित्र नेतृत्वको आलोचना र राजीनामाको दबाब बढेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *