अब नयाँ सरकार गठनको बाटो खुला

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेसँगै मुलुकमा नयाँ सरकार गठनको संवैधानिक र राजनीतिक बाटो खुलेको छ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन पेस भएसँगै अब नयाँ संसद्को अधिवेशन आह्वान र सरकार गठनको प्रक्रिया सुरु हुने छ। निर्वाचन आयोगले प्रतिवेदनको प्रतिलिपि नेपाल सरकार र सङ्घीय संसद् सचिवालयलाई पनि पठाइसकेको छ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार नवनिर्वाचित सांसदहरूलाई आगामी चैत १२ गते दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भइसकेको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा स्पष्ट बहुमत हासिल गरेको छ। १८२ सिट जितेको रास्वपाले एकल सरकार बनाउने तयारी गरेको छ।

पार्टीले निर्वाचनका क्रममा बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मतदातासामु गएको थियो। संविधानको धारा ७६ को उपधारा (१) बमोजिम अब रास्वपाले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्।

सांसदहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र पाइसकेकाले अब सरकार गठनका लागि शपथ ग्रहण कुरिरहनु नपर्ने कानुनी जानकारहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *