१७५ देश घुमाउने प्रलोभन देखाई करोडौँ ठगी गर्ने ७ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१० थापागाउँमा ‘श्रीटेल होलिडेज’ नामको अवैध ट्राभल एजेन्सी खोलेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ३ गते थापागाउँस्थित कार्यालयमा छापा मारी ६ भारतीय र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सप्तरीका २६ वर्षीय विवेक रेग्मीसहित भारतीय नागरिकहरू हुसेन सैयद, साजिद ओमर सैयद, महम्मद इमरान, मिर खालिद हुसेन, रजाक महम्मद र समादा गिरी रहेका छन्।

उनीहरूले युरोप, एसिया र अफ्रिकाका १७५ देशमा पर्यटक भिसामा घुम्न पठाउने आकर्षक ‘प्याकेज अफर’ देखाएर अहिलेसम्म करिब २ करोड ७२ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टका अनुसार ठगी गर्ने समूहले काठमाडौँका ठूला सपिङ मलहरूमा ‘ट्राभल डेस्क’ राखेर ग्राहकहरूलाई फारम भर्न लगाउने गरेका थिए।

पछि उनीहरूलाई फोन गरेर ‘तपाईँलाई चिट्ठा पर्यो, खान बस्न पैसा लाग्दैन’ भन्दै कार्यालयमा बोलाएर विभिन्न प्याकेजका नाममा रकम असुल्ने गरेको पाइएको छ।

प्रहरीका अनुसार उक्त ट्राभल एजेन्सी सरकारको कुनै पनि निकायमा दर्ता नगरी अवैध रूपमा सञ्चालन भइरहेको थियो। हालसम्म ३२८ जना पीडितहरूले उनीहरूविरुद्ध उजुरी दिएका छन्। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *