राप्रपा संसदीय दलको नेता शाही, मुख्य सचेतक ओली
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही चयन भएका छन्। बिहीबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको राप्रपा संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत रूपमा नेता चयन गर्ने निर्णय गरेको हो।
बैठकले संसदीय दलको मुख्य सचेतकमा खुश्बु ओलीलाई नियुक्त गरेको छ। शाहीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट लगातार दोस्रो पटक चुनाव जितेका थिए। उनले नेकपाका उम्मेदवारलाई ३ हजार १८१ मतान्तरले पराजित गर्दै राप्रपाका लागि यस निर्वाचनमा पहिलो जित दिलाएका थिए।
त्यसैगरी, मुख्य सचेतकमा नियुक्त ओली राप्रपाबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन्। पार्टीले यसपटक समानुपातिकतर्फ प्राप्त गरेको ४ सिटमध्ये महिला क्लस्टरबाट उनलाई सिफारिस गरेको थियो।
निर्वाचन आयोगले बिहीबार मात्रै समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ। आगामी चैत १२ गते नयाँ सांसदको शपथ ग्रहण गर्ने तयारी भइरहेका बेला राप्रपाले आफ्नो संसदीय टोलीको नेतृत्व टुङ्ग्याएको हो। यसअघि राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन रहेका थिए।
