गुटबन्दी राजनीति नत्यागे पुराना दलजस्तै बन्छौं : लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको गुटगत राजनीति त्यागेर देश केन्द्रित हुन निर्देशन दिएका छन्।
बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिनलाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थ र पदलोलुपतामा अल्झिए पुराना दलको भन्दा पनि खराब अवस्था आउने चेतावनी दिएका हुन्।
कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनताले पुराना दललाई जस्तो रास्वपालाई दशकौँ नपर्खिने स्पष्ट पारे। ‘पुराना राजनीतिक दललाई जसरी ३५-३६ वर्ष विश्वास गरेर कुरे, हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्नेवाला छैनन्,’ उनले भने।
कानुन निर्माताका रूपमा दौडधुप स्वार्थ समूहको घरमा नभई जनताको काममा हुनुपर्ने र कांग्रेस–एमाले जस्ता दलसँग भिड्न कुनै गुट बनाउन आवश्यक नरहेको उनले बताए।
उनले विभिन्न शक्तिहरू एक ठाउँमा उभिँदा पनि नागरिकको चेतनाका कारण आफूहरू नहल्लिएको उल्लेख गरे। आगामी ‘८४ को चुनावलाई लक्षित गर्दै उनले अब परिणाम देखाउने समय आएको र त्यसका लागि पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए। आफ्नो हैसियत, पद र सरकारमा आफ्नो स्थान मात्रै खोज्ने ‘म’ केन्द्रित राजनीतिले देशको हित नगर्ने उनको तर्क थियो।
लामिछानेले पार्टीभित्रको आन्तरिक एकतालाई जोड दिँदै सबैलाई घण्टी मुनि अटाउन आग्रह गरे। आफ्नो हैसियत र पदमा मात्र केन्द्रित हुने हो भने रास्वपाको हालत पुराना दलका नेताहरूको भन्दा बत्तर हुने भन्दै उनले सचेत गराए। देशलाई केन्द्रमा राखेर राजनीति गर्न नसके नागरिकले विकल्प खोज्न समय नलगाउने उनको भनाइ थियो।
