वन्यजन्तुका अंग लुकाएको आरोपमा इन्स्पेक्टरसहित १३ प्रहरीमाथि कारबाही

काठमाडौं। कैलालीमा वन्यजन्तुका अंग बरामद गरिएको घटनामा मुद्दा कमजोर बनाएको आरोपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) दानसिंह भण्डारीसहित १३ जना प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीको निर्देशनमा ती सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको स्रोतले जनायो।

गत साउन ९ गते गोदावरी नगरपालिका-८ बाट दुई भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए।

तर, मुद्दा चलाउने क्रममा बरामद चित्तलको सिङ र खुट्टा विवरणबाट गायब पारिएको पाइएपछि अनुसन्धान अधिकृतका रूपमा कार्यरत भण्डारीसहितका प्रहरीमाथि छानबिन सुरु भएको थियो।

छानबिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले वन्यजन्तुका अंग लुकाउन प्रहरीकै संलग्नता देखिएको निष्कर्ष निकाल्दै नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरेको छ।

प्रतिनिधि सभा निर्वाचनका कारण प्रतिवेदन बुझाएको तीन महिनासम्म पनि कारबाही प्रक्रिया केही प्रभावित भएको प्रहरीले जनायो।

तत्कालीन समयमा इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत अधिकांश प्रहरी सरुवा भइसकेका भए पनि उनीहरूलाई हाल कार्यरत रहेकै स्थानबाट जिल्ला हाजिर हुन निर्देशन दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *