कार्यसम्पादनमा उत्कृष्ट हुँदा दुर्गमका शिक्षकलाई प्रोत्साहन

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकास्थित मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय माध्यमिक तहको प्रथम श्रेणीमा बढुवा भएका छन्।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिएको ७५ प्रतिशत शिक्षक बढुवा प्रक्रियाअन्तर्गत पाध्याय सो श्रेणीमा पदोन्नति भएका हुन्।

शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित पाध्यायले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको समग्र विकास र अनुशासित शैक्षिक वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

उनको नेतृत्वमा विद्यालयले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय प्रगति हासिल गरेको स्थानीयले बताए।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा भएको उक्त बढुवामा बाजुरा जिल्लाबाट पाध्याय चयन हुनु स्थानीय शिक्षा क्षेत्रका लागि गौरवको विषय मानिएको छ। उनको सफलताप्रति स्थानीय सरोकारवाला, शिक्षक तथा अभिभावकले खुसी व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादनको अपेक्षा गरेका छन्।

पाध्यायको यस उपलब्धिले विद्यालयका साथै समग्र बाजुरा जिल्लाको शैक्षिक क्षेत्रलाई समेत प्रेरणा प्रदान गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *