सौतेनी आमाको हत्या, बहिनी गम्भीर घाइते
सांकेतिक तस्बिर
काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ माननीय चोकमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै कान्छी आमाको हत्या गरेका छन् भने बहिनीलाई गम्भीर घाइते बनाएका छन्।
स्थानीय ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनायो।
प्रहरीका अनुसार मंगलबार राति करिब ८:४५ बजे भएको उक्त आक्रमणमा बिन्द्राको घटनास्थलमै मृत्यु भयो। सोही क्रममा हरिले आफ्नै ५० वर्षीया बहिनी भगवतीदेवी माझीमाथि पनि आक्रमण गरेका थिए।
माइतीमै बस्दै आएकी भगवतीको टाउको र दाहिने हातमा गहिरो चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको र हाल महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बतायो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार जग्गा जमिनको विषयलाई लिएर उनीहरूबीच लामो समयदेखि विवाद चल्दै आएको थियो। सोही पुरानो रिसिइबीका कारण हरिले परिवारका सदस्यमाथि आक्रमण गरेको अनुमान गरिएको छ।
घटनालगत्तै फरार भएका हरिप्रसादको खोजीका लागि जिल्लाभर र सीमा क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
