रास्वपाका तीन सांसदविरुद्ध रिट, पद खारेजी माग
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवनिर्वाचित तीन सांसदको पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
उदयपुर क्षेत्र नम्बर २ का सूर्यबहादुर तामाङ, सिन्धुली क्षेत्र नम्बर १ का धनेन्द्र कार्की र पर्सा क्षेत्र नम्बर १ का बुद्धिप्रसाद पन्तविरुद्ध मंगलबार रिट दर्ता भएको हो।
तामाङविरुद्ध नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी र कार्कीविरुद्ध एमालेकै प्रदीपकुमार कटुवालले रिट दायर गरे। उनीहरूले युवराज पौडेल ‘सफल’ लाई वारेस राखेर रिट दर्ता गराएको सर्वोच्चले जनाएको छ। यस्तै पन्तविरुद्ध एमाले उम्मेदवार प्रदीप यादवले सुरेन्द्र चौधरीलाई वारेस दिएर रिट दायर गरे।
निर्वाचित तीनै जना सांसद कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र निर्वाचन आयोगलाई झुक्याएर उम्मेदवार बनेको दाबी रिटमा गरिएको छ। रिटमार्फत उनीहरूको निर्वाचन बदर गरी निकटतम प्रतिस्पर्धीलाई विजयी घोषणा गर्न माग गरिएको छ।
सर्वोच्चका उपरजिष्ट्रार निराजन पाण्डेले तीनै जना विरुद्धको रिट दर्ता भइसकेको र सुनुवाइका लागि चैत २५ गतेलाई पेसी तोकिएको जानकारी दिए। रिट दायर गर्ने सबै जना सम्बन्धित क्षेत्रका निकटतम प्रतिस्पर्धी हुन्।
