मध्यपूर्वमा सुरक्षा जोखिम बढेपछि नयाँ श्रम स्वीकृति स्थगित
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसिया (मध्यपूर्व) क्षेत्रमा बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नयाँ श्रम स्वीकृति प्रदान गर्ने कार्य तत्कालका लागि स्थगित गरेको छ।
मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय लिइएको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जान चाहने नयाँ श्रमिकका लागि व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति रोकिएका छन्।
ती देशहरूमा पछिल्लो समय देखिएको अस्थिरता र सुरक्षा जोखिमका कारण नयाँ कामदार पठाउनु चुनौतीपूर्ण देखिएको सरकारको निष्कर्ष छ।
यद्यपि, बिदामा नेपाल आएका र पुनः रोजगारीमा फर्किन चाहने पुराना श्रमिकहरूका हकमा भने पुनः श्रम स्वीकृति दिइने व्यवस्था मिलाइएको छ।
श्रम स्वीकृतिको अवधि सकिएका तर रोजगारीमै रहेकाहरूका लागि पनि नवीकरण गर्ने बाटो खुला राखिएको छ, जसले गर्दा पुराना श्रमिकलाई कार्यक्षेत्रमा फर्किन सहज हुनेछ।
यो निर्णय २०८२ फागुन ३ गतेदेखि नै कार्यान्वयनमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। वैदेशिक रोजगार विभागको सिफारिस र विभिन्न देशमा रहेका नेपाली दूतावासहरूसँगको समन्वयमा मन्त्रालयले त्यहाँको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ।
मन्त्रालयले विषम परिस्थिति रहेकाले अत्यावश्यक बाहेकका कामका लागि मध्यपूर्वतर्फ यात्रा नगर्न समेत नागरिकलाई आग्रह गरेको छ। परिस्थितिको मूल्याङ्कन गरी आगामी दिनमा थप निर्णयहरू लिइने मन्त्रालयको दाबी छ।
