कांग्रेसले टुङ्ग्यायो २० समानुपातिक सांसदको नाम

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ आफ्नो भागमा परेका २० सिटका लागि सांसदहरूको नाम टुङ्गो लगाएको छ ।

आइतबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट क्लस्टर मिलाएर २० जनाको नामावली निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कुल २० सिटमध्ये समावेशी सिद्धान्त र संवैधानिक व्यवस्थाअनुसार १५ जना महिला र ५ जना पुरुषलाई सांसदका लागि सिफारिस गरिएको छ ।

यसपटक कांग्रेसले आदिवासी जनजातिबाट ६ र खस आर्यबाट ६ जनाको नाम छनोट गरेको छ । यस्तै थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र गरी अन्य क्लस्टरबाट ८ जना समेटिएका छन् ।

बैठकपछि प्रवक्ता चालिसेले बन्दसूचीका नामहरू आइतबार नै निर्वाचन आयोगमा पठाइने जानकारी दिए । क्लस्टर मिलाउँदा केही तलमाथि परेको खण्डमा आयोगको सुझावअनुसार सच्याउने सुविधा रहेकाले नामावलीमा सामान्य हेरफेर हुन सक्ने उनले बताए । आयोगले प्राप्त नामावली रुजु गरेपछि सांसदहरूको अन्तिम सूची औपचारिक रूपमा सार्वजनिक गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *