राप्रपाले छान्यो ४ समानुपातिक सांसद
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ आफ्नो भागमा परेका ४ सिटका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्राप्त सिटअनुसार सांसदहरूको नामावली टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पार्टीले विभिन्न क्लस्टर र जिल्लालाई समेट्दै सांसदका लागि सिफारिस गरेको छ । खस आर्य पुरुष क्लस्टरबाट महोत्तरीका भरत गिरी र मुस्लिम पुरुष क्लस्टरबाट रुपन्देहीका ताहिर अलीलाई छनोट गरिएको छ ।
त्यस्तै, महिलातर्फ खस आर्य क्लस्टरबाट झापाकी खुश्बु ओली र जनजाति महिला क्लस्टरबाट धादिङकी सरस्वती लामाको नाम सिफारिस भएको प्रवक्ता श्रेष्ठले बताए ।
राप्रपाले निर्वाचन आयोगमा बुझाउने अन्तिम नामावलीमा यी चार नामलाई प्राथमिकतामा राखेर निर्णय गरेको हो । यसअघि बसेको बैठकले समावेशी सिद्धान्त र पार्टीको योगदानका आधारमा नाम छनोट गर्ने जिम्मा कार्यसम्पादन समितिलाई दिएको थियो ।
