एमाले सचिव महेश बस्नेतसँग सर्वोच्चले माग्यो लिखित जवाफ
काठमाडौँ। सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतविरुद्ध परेको अवहेलना मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
अधिवक्ता लबन न्यौपानेले गत बुधबार बस्नेतविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। बस्नेतले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दालाई लक्षित गर्दै न्यायाधीशहरूका विरुद्ध विवादास्पद अभिव्यक्ति दिएको रिटमा उल्लेख छ।
प्रेस चौतारी नेपालले माघ ११ गते आयोजना गरेको एक कार्यक्रममा बस्नेतले प्रधानन्यायाधीश र न्यायाधीशहरू ‘लाग्दै नलागेको रोग लागेर गायब हुने’, ‘लोभ र दबाबमा परेर न्याय प्रक्रिया ढिला गर्ने’ तथा ‘फोन अफ गरेर पन्छिने’ भनी टिप्पणी गरेका थिए। साथै, उनले नेपालको न्याय प्रणाली नै ‘जलेको’ भन्दै सार्वजनिक रूपमा अदालतको मानमर्दन गरेको दाबी रिट निवेदनमा गरिएको छ।
यसअघि सर्वोच्चले एमालेका अन्य केही नेताहरूका अभिव्यक्तिमाथि पनि निगरानी गरिरहेको अवस्थामा बस्नेतलाई लिखित जवाफका लागि बोलाइएको हो।
