‘माथिल्लो तहका नेताबाटै ‘घृणायुक्त अभिव्यक्ति किन ?’
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरूबाटै आफू र अन्य सहकर्मीमाथि अनर्गल लान्छना र घृणायुक्त अभिव्यक्ति आइरहेको भन्दै कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र भइरहेको यस्तो गतिविधि अशोभनीय भएको बताए।
भट्टराईले पार्टी नेतृत्व र माथिल्ला तहबाट मिथ्या सूचना सम्प्रेषण गर्ने र एक-अर्काप्रति नकारात्मक टिप्पणी गर्ने काम बन्द गर्न आग्रह गरेका छन्।
“यस बिचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ,” उनले लेखेका छन्।
उनले पार्टीको एकता जोगाउन यसलाई बहुआयामिक रूपले रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। गलत जानकारी र घृणायुक्त भाषण बन्द गरी तथ्य र तर्कका आधारमा बहस गर्नुपर्ने उनको भनाइ छ। भट्टराईले आत्मभत्सर्नाभन्दा पनि जमेर आत्मसमीक्षा गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्।
