रास्वपाद्वारा समानुपातिक सांसदमा ४८ जना महिला
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका ५७ जना सांसदको अन्तिम नामावली टुङ्गो लगाएको छ। आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले निर्वाचन आयोगलाई बुझाउने गरी उम्मेदवारहरूको नाम सुनिश्चित गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले पार्टीले पाएको कुल मतको आधारमा ५७ जनाको नामावली तयार पारिएको जानकारी दिए। कानुनी प्रावधान र समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै तयार पारिएको यस सूचीमा ४८ महिला र ९ पुरुष समावेश छन्।
क्लस्टरअनुसारको सङ्ख्या
खस आर्य: १७ जना
आदिवासी जनजाति: १६ जना
मधेसी: ९ जना
दलित: ८ जना
थारु: ४ जना
मुस्लिम: ३ जना
प्रवक्ता झाका अनुसार निर्वाचन आयोगमा नामावली बुझाएपछि आयोगले गर्ने रुजु र प्रमाणीकरण प्रक्रिया सकिएपछि मात्र आधिकारिक रूपमा नामहरू सार्वजनिक गरिनेछ।
स्वास्थ्य समस्याका कारण केही समयदेखि विश्राममा रहेका पार्टी सभापति रवि लामिछाने आजको बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका थिए। यसअघि नै रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने र सरकार गठनका लागि करिब १० दिन लाग्न सक्ने सङ्केत दिइसकेको छ।
