फागुनमा १८ हजार तीर्थयात्री, ३१ लाख भेटी
ताप्लेजुङ। प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा ३१ लाख १० हजार रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ।
दर्शनका लागि आएका भक्तजनले मन्दिरमा चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार, भक्तजनले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्छन्।
सङ्कलित भेटीलाई मन्दिर परिसरबाट पोकामा लाहाछाप लगाएर फेदीसम्म ल्याइन्छ र त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा पुर्याइन्छ।
कार्यालयमा प्रहरी र सिसीटिभीको निगरानीमा दैनिक रूपमा गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ।
समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, फागुन महिनामा मात्र १८ हजार ६५२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्।
पाथीभरामा वर्षभरि नै देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन्, जसले यस क्षेत्रलाई महत्त्वपूर्ण धार्मिक र पर्यटकीय स्थलका रूपमा स्थापित गरेको छ।
