रास्वपामा संसदीय दलको नेता छान्न गृहकार्य सुरु
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिट जितेर दुई तिहाइ नजिकको बहुमत हासिल गरेको छ।
स्पष्ट बहुमत प्राप्त गरेसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह भावी प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ। निर्वाचनअघि सभापति रवि लामिछाने र बालेनबीच भएको ७ बुँदे सहमतिअनुसार रविले पार्टी र बालेनले सरकारको नेतृत्व गर्ने उल्लेख छ।
यद्यपि, पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनका केही प्रावधान बालेनलाई प्रधानमन्त्री बनाउन बाधक हुनसक्ने तर्कहरू पनि उठेका छन्।
रास्वपाको विधानमा निर्वाचनअघि नै सदस्यहरूबाट संसदीय दलको नेता छान्ने व्यवस्था भए पनि सहमहामन्त्री विपिन कुमार आचार्यले संक्रमणकालीन अवस्थामा विधानले बाधा नपुर्याउने बताएका छन्।
पार्टीका अनुसार समानुपातिक सांसदहरूको अन्तिम नामावली टुङ्गिएपछि केन्द्रीय समितिको बैठक बस्नेछ। सोही बैठकले विधानको ‘बाधा अड्काउ फुकाउ’ अधिकार प्रयोग गरी संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ।
अधिवक्ता यज्ञमणि न्यौपानेले पनि पूर्वसहमति कार्यान्वयनमा कानुनीभन्दा पनि नैतिक पक्ष बलियो हुने र एकल उम्मेदवार भएको अवस्थामा चयन प्रक्रियामा समस्या नहुने जिकिर गरेका छन्।
सभापति रवि लामिछाने हाल अस्वस्थ रहेकाले उनी निको भएलगत्तै सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्ने रास्वपाले जनाएको छ।
