भदौ २३ र २४ का घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले भदौ २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

संस्थाले शनिबार प्रेस वक्तव्य जारी गर्दै उक्त आन्दोलनका क्रममा भएका हत्या, आगजनी तथा हिंसात्मक घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएको हो।

वक्तव्यमा ती दिनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरिएको छ। प्रतिवेदन सार्वजनिक नगरी सत्य लुकाउने प्रयास भएमा त्यसले लोकतान्त्रिक मूल्य र जनभावनाको अपमान हुने चेतावनी संस्थाले दिएको छ।

आन्दोलनको मूल माग नै पारदर्शिता र उत्तरदायित्व भएकाले छानबिन प्रतिवेदन सार्वजनिक नहुनु स्वीकार्य नहुने मुभमेन्टको ठहर छ।

प्रतिवेदन सार्वजनिक गर्न दबाब दिने उद्देश्यले भोलि चैत १ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा मुभमेन्टले गरेको छ।

संस्थाका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुअघि प्रतिवेदन सार्वजनिक हुनुपर्ने अडान राखिएको छ। साथै, पारदर्शिता र जवाफदेहिताको पक्षमा एकजुट हुन सबै नागरिकलाई आग्रह समेत गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *