समानुपातिक सांसदका आकांक्षी धेरै : मिलाउनै सकस
सुनसरी। निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले जितेको सिट संख्या निर्धारण गरेसँगै श्रम संस्कृति पार्टीमा सांसदका आकांक्षीहरूको दौडधुप सुरु भएको छ।
समानुपातिकको बन्द सूचीमा नाम भएका कतिपयले सामाजिक सञ्जालमार्फत आफू सांसद बन्न पाउनुपर्ने दाबी गरिरहेका छन्।
समानुपातिकतर्फ ४ सिट जितेको यो पार्टीका अध्यक्ष हर्क साम्पाङलाई सांसद छनोट प्रक्रिया चुनौतीपूर्ण बनेको छ। साम्पाङले यो विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि समेत पोखेका छन्।
सुनसरी-१ बाट निर्वाचित सांसद समेत रहेका उनले लेखेका छन्, ‘भात खाऊ, मेरो टाउको नखाऊ।’ उनले थप प्रष्ट पार्दै समानुपातिकको विषयमा दबाब दिने जोकोहीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने चेतावनी दिएका छन्।
पार्टीको बन्दसूचीमा रहेका समला साम्पाङ राई र आशा लामा लगायतले सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत आफ्नो आकांक्षा सार्वजनिक गरिसकेका छन्।
समलाले आफूलाई नै समानुपातिक सांसद बनाउनुपर्ने भन्दै फेसबुकमा पोस्ट गरेकी छन्। उनले आफ्नो कुरा सुनुवाइ नभएको गुनासो गर्दै मिडियामा बोल्न बाध्य भएको बताएकी छन्।
आदिवासी जनजाति महिलाको १६औँ नम्बरमा नाम रहेकी उनले पार्टीमा आफ्नो ठूलो योगदान रहेको दाबी गरेकी छन्।
त्यस्तै, बन्दसूचीको तेस्रो नम्बरमा रहेकी आशा लामाले आफूलाई सांसद नबनाए हर्क साम्पाङको घरमा धर्ना बस्ने चेतावनी दिएकी छन्। उनी दबाब दिनकै लागि काठमाडौंबाट धरान आइपुगेकी छन्।
श्रम संस्कृति पार्टीबाट प्रत्यक्षतर्फ अध्यक्ष साम्पाङसहित ध्रुवराज राई र आरेन राई निर्वाचित भएका छन्। यी तीनै जना आदिवासी जनजाति क्लस्टरका पुरुष हुन्।
कानुनी प्रावधान अनुसार कुल सात सांसदमध्ये ३३.३३ प्रतिशत महिला हुनुपर्ने भएकाले पार्टीले समानुपातिकका चारमध्ये कम्तीमा तीन जना महिला पठाउनुपर्ने देखिन्छ।
यसका साथै खसआर्य, दलित, मधेशी, मुस्लिम र थारू लगायतका क्लस्टर पनि मिलाउनुपर्ने चुनौती छ। निर्वाचन आयोगले सांसद बन्नेहरूको नाम बुझाउन दलहरूलाई तीन दिनको समय दिएको छ।
