शिक्षकप्रति अपमानजनक शब्द प्रयोग गरेको भन्दै महासङ्घद्वारा खेद

भक्तपुर । नेपाल शिक्षक महासङ्घले शिक्षक र शिक्षण पेसाप्रति अमर्यादित शब्द प्रयोग गर्ने सांसदप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घले आज शुक्रबार विज्ञप्ति जारी गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले शिक्षकहरूको मानमर्दन हुने गरी दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको हो।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशको विद्यालय शिक्षाको विकास तथा शिक्षक-कर्मचारीको हक, हित र मर्यादाका लागि महासङ्घ सदैव प्रतिबद्ध रहेको उल्लेख छ।

शिक्षकहरूको पेसागत मर्यादा र स्वाभिमान विपरीतका कुनै पनि अभिव्यक्ति वा व्यवहार स्वीकार्य नहुने महासङ्घले स्पष्ट पारेको छ।

आफ्नो पदीय गरिमालाई समेत बिर्सिएर शिक्षक पेसाप्रति अशिष्ट शब्द र आशय व्यक्त गरिएको भन्दै महासङ्घले ती सांसदलाई सार्वजनिक रूपमा क्षमा माग्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “आफ्नो पदीय गरिमा बिर्सिएर गरिएको यस अभिव्यक्तिप्रति हामी खेद प्रकट गर्दछौँ र आइन्दा यस्ता विचार व्यक्त नगर्न सम्बन्धित व्यक्तिलाई सजग गराउन चाहन्छौँ।” महासङ्घले शिक्षकहरूको आत्मसम्मानमा ठेस पुग्ने यस्ता कार्यहरू तत्काल बन्द गर्न समेत चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *