झापामा हावाहुरी र वर्षा : रुखले थिचेर र डुबेर ३ जनाको मृत्यु
फाइल तस्बिर
झापा । झापामा बिहीबार आएको भीषण वर्षा र हावाहुरीका कारण रुखले थिचेर तथा पानीमा डुबेर तीन जनाले ज्यान गुमाएका छन्। हावाहुरीले रुख ढाल्दा हल्दीबारी गाउँपालिका-२ पाराखोपीमा १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा नजिकैको आँपको रुख घरमाथि ढल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै पुगेको सुरक्षाकर्मीको टोलीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।
वर्षासँगै जिल्लाका अन्य दुई स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । हल्दीबारी-२ कै ३७ वर्षीय सुनिलराम सोरेनको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । मजदूरी गरी घर फर्कने क्रममा मादक पदार्थ सेवन गरेका उनी खेतमा लडेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
त्यसैगरी अर्जुनधारा-४ रातेखालस्थित खोल्सामा डुबेर ५० वर्षीय कृष्ण कटुवालको मृत्यु भएको छ । छारे रोगका बिरामी रहेका कटुवाल पैनीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् ।
बिर्तामोड–५ धिमाल चोकमा सडक किनारको सोलार पोल ढल्दा ४६ वर्षीय मोटरसाइकल चालक सूर्य श्रेष्ठ घाइते भएका छन् । उनको अहिले बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । गौरादह-९ मा पिपलको हाँगा भाँचिएर स्थानीयको घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी गुरुप्रसाद तिम्सिनाले बताए ।
