राहदानी विभागमा नयाँ प्रणाली, केही दिन सेवा प्रभावित हुने

काठमाडौँ। राहदानी विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने तयारी गरेको छ। यस प्रक्रियाका कारण केही दिन राहदानी वितरण सेवा प्रभावित हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार नयाँ प्रणाली जडानको समयमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने सेवा एकदेखि तीन दिनसम्म बन्द हुन सक्छ।

राहदानी विभागबाटै प्रदान गरिने सेवा भने करिब एक सातासम्म अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख छ।

नयाँ प्रणाली जडान र कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागले बताए।

उक्त अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशी नियोगमार्फत आवेदन दिँदा राहदानी तयार हुन हालको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ।

विभागले नयाँ प्रणाली जडानको काम अघि बढिसकेकाले आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सेवा लिन आग्रह गरेको छ।

नयाँ प्रणालीसम्बन्धी थप विस्तृत विवरण निकट भविष्यमा सार्वजनिक गरिने विभागले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *