समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाटै निकाल्ने चेतावनी
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक सांसदको विषयलाई लिएर असन्तुष्टि पोख्ने र ‘रोइलो’ गर्नेलाई पार्टीबाटै निष्कासन गर्ने चेतावनी दिएका छन्।
थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको आफ्नो दलभित्र समानुपातिक सांसदका लागि नेताहरूबीच हानाथाप भएपछि उनले कडा रुख अपनाएका हुन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले अब उप्रान्त समानुपातिकको विषयमा विवाद गर्ने जोकोहीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाउने बताए।
उनले फेसबुकमा लेखेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु। हद भो।’
हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरी श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सिट सुरक्षित गरेको छ।
राष्ट्रिय पार्टीको मान्यता पाएसँगै पार्टीभित्र कुन व्यक्तिलाई सांसद बनाउने भन्ने विषयमा रस्साकस्सी सुरु भएपछि अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन्।
