स्कोरपिओको ठक्करले युवकको मृत्यु, युवती घाइते

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-४ मा स्कोरपिओ गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुधबार अपरान्ह ४ः४५ बजेतिर इनरुवाबाट भण्टाबारीतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको स्कोरपिओले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०६-००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताए ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय सञ्जय साहको ज्यान गएको छ । गम्भीर घाइते भएका साहलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल इनरुवा पुर्याइए पनि चिकित्सकले साँझ ५ः२० बजे मृत घोषित गरे ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार राजविराजकी २५ वर्षीया पुष्पा साह गम्भीर घाइते भएकी र उनको उपचार भइरहेको प्रहरीले जानकारी दिए ।

प्रहरीले स्कोरपिओ चालक सप्तरीको बोदेबरसाइन नगरपालिका-६ का २५ वर्षीय रञ्जितकुमार चौधरी र सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएका छन् ।

स्कोरपिओको तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *