श्रम संस्कृति पार्टीको उदय: कोशीमा कांग्रेस र एमालेलाई पछि पार्दै दोस्रो
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनका रोचक तथ्यहरू बाहिर आएका छन्। यसपटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर देशव्यापी रूपमा देखिए पनि कोशी प्रदेशमा भने नयाँ समीकरण बनेको छ।
गठन भएको चार महिनामै श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टीका रूपमा उदाएको छ। प्रत्यक्षतर्फ ३ सिट जितेको यस पार्टीले समानुपातिकमा समेत करिब ४ सिट पाउने गरी मत ल्याएको छ।
कोशी प्रदेशको समानुपातिक मत परिणाममा यो पार्टीले ऐतिहासिक सफलता प्राप्त गर्दै कांग्रेस र एमालेलाई समेत पछि पारेको छ। कोशीमा रास्वपा पहिलो र श्रम संस्कृति दोस्रो दल बनेका छन् भने कांग्रेस तेस्रो र एमाले चौथो स्थानमा खुम्चिएका छन्।
कोशी प्रदेशमा रास्वपाले ८ लाख ५३ हजार १८४ मत प्राप्त गरी वर्चस्व कायम गर्दा श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत पाएको छ। देशभरबाट कूल ३ लाख ८५ हजार ६७९ मत पाएको श्रम संस्कृतिले आफ्नो कूल मतको दुई तिहाइभन्दा बढी हिस्सा कोशीबाटै प्राप्त गरेको देखिन्छ। यसले दशकौँदेखि कोशीमा बलियो पकड जमाएका कांग्रेस र एमालेलाई ठुलो चुनौती दिएको छ।
अन्य प्रदेशमा पुराना दलको मत रास्वपातिर ‘स्विङ’ हुँदा कोशीमा भने श्रम संस्कृतिले त्यो मत उल्लेख्य रूपमा रोकेको विश्लेषण गरिएको छ। कोशीमा तेस्रो स्थानमा रहेको कांग्रेसले २ लाख ९० हजार ५६२ र चौथो स्थानको एमालेले २ लाख ८८ हजार १८६ मत पाएका छन्। यस्तै नेकपाले ९७ हजार ६७९ मत मात्र प्राप्त गरेको छ।
प्रत्यक्षतर्फ श्रम संस्कृतिले खोटाङ, धरान र भोजपुर गरी ३ सिट जितेको छ। खोटाङ र भोजपुरमा यो पार्टी समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाउने दल बनेको छ। पाँचथरमा प्रत्यक्षतर्फ कांग्रेसले जिते पनि समानुपातिक मतमा श्रम संस्कृति नै पहिलो स्थानमा रहन सफल भएको छ।
